काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिर्सजन प्रभावित भएको छ । वर्षाका कारण सिसडोल पुग्ने सडक बिग्रिएको र फोहोर फाल्ने ठाउँ पनि भरिएले फोहोर बिसर्जन केहीदिन यता प्रभावित भएको काठमाडौं महानगरपालिले जनाएको छ।
महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सडक पनि बिग्रिएको र अर्को फोहोर फाल्ने ठाउँ पनि भरिएको कारण फोहोर बिसर्जन प्रभावित भएको हिमाली खबरलाई जानकारी दिए ।
फोहोर व्यवस्थापन गर्ने सम्भावना नरहेपछि कम्पनीहरुले नागरिकलाई आ–आफ्नो घर ,पसल, रेष्टुरेन्ट तथा व्यापारीक क्षेत्रबाट उत्पादन हुने फोहोरमैलालाई केही समयको लागि आफैले सुरक्षित तरिकाले व्यवस्थापन गर्न आग्रह गरेका छन् । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु सडकको दुरावस्थाका कारण सिस्डोल पुग्न सकेका छैनन् ।

महानगरपालिकाका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ५० मेट्रिक टन फोहोर उत्पादन हुनेगर्छ । फोहोर व्यवस्थापनका लागि महानगरले हरेक वर्ष वर्षायाममा यस्तै सास्ती खेप्नु पर्ने समस्या छ । त्यसको विकल्पको रुपमा विकास गरिएको बञ्चरेडाँडालाई छिटो प्रयोगमा ल्याउनुको अब विकल्प नभएको प्रमुख श्रेष्ठले बताए ।
बञ्चरेडाँडा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेका छन् । गत वर्षको साउनबाटै यो प्रयोगमा ल्याउने भनिएपनि अहिले पनि काम निकै सुस्त छ । अझ लकडाउनले निर्माण सामाग्री आयातमा समस्या हुँदा काम प्रभावित भएको बताइएको छ ।
