नुवाकोट । नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर ६ कुवापानीका भुजेल परिवार तथा स्थानीयले नेपाली काङ्ग्रेस नुवाकोटका युवा नेता एवम् समाजसेवी शिव अधिकारी “अविरल” प्रति आभार प्रकट गरेका छन् । २४ घन्टा नै अक्सिजन लिनुपर्ने स्थानीय राजेन्द्र भुजेलले अधिकारीले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर मार्फत अक्सिजन उपभोग गर्न पाएपछि उनका परिवार मात्र नभई सिङ्गो गाउँबासी नै खुसी हुँदै अधिकारी प्रति आभार प्रकट गरेका हुन ।
उनलाई २४ घन्टामा ६ वटा सिलिन्डर अक्सिजन आवश्यक पर्ने परिवारका सदस्यले बताए । एउटा सिलिन्डर भरेको ५ सयका दरले दैनिक ३ हजार खर्च हुने गरेको थियो । तर अधिकारीले प्रदान गरेको उक्त मेसिनले उनको आर्थिक अभाव हल गर्नुका साथै अक्सिजन भर्न सदरमुकामसम्म धाउनुपर्ने झन्झटबाट समेत मुक्ति मिलेको छ ।
अधिकारीले हिजैमात्र मझुवा स्वास्थ्य चौकीलाई प्रदान गरेको उक्त मेसिन स्वास्थ्य चौकीसंगको समन्वयमा हाल भुजेल परिवारले उपयोग गरेका हुन ।
वडा नम्बर ६ का अध्यक्ष ज्ञानेन्द्र तामाङले मझुवाका लागि अत्यावश्यक सामाग्री प्रदान गरेकोमा अधिकारी प्रती विशेष आभार प्रकट गरे । त्यस्तै स्थानीय समाजसेवी खम्व सिंह तामाङले पनि यो सहयोगबाट भुजेल परिवारले खेप्दै आएको आर्थिक एवम् भौतिक समस्या तत्कालका लागि हल भएको भन्दै यसबाट भुजेल परिवार मात्र नभई सिङ्गो मझुवाबासी नै खुसी भएको बताए ।
पछिल्लोसमय एकातर्फ अक्सिजन सिलिन्डरको चरम अभाव भइरहेको भने अर्कोतर्फ आर्थिक अभावले अक्सिजन खरिदमा समेत समस्या खेप्नुपरेको बेला अधिकारीको यो सहयोग बरदान साबित भएको स्थानीयले बताए । अधिकारीले तार्केश्वरमा मात्र ६ बटा अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेका छन् ।
अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने एउटा विद्युतीय उपकरण हो । हावामा नाइट्रोजनको मात्रा बढी हुन्छ । करिब ७८ प्रतिशत नाइट्रोजन,२१ प्रतिशत अक्सिजन र अन्य एक प्रतिशत ग्यासहरु हावामा हुन्छन् । कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने छ ।