जलवायु परिवर्तनले हेलम्बुमा पारेको असरबारे छलफल

जलवायु परिवर्तनले हेलम्बुमा पारेको असरबारे छलफल

हेलम्बु  । सिन्धुपाल्चोकको हेलम्बुमा जलवायु परिवर्तनको कारण हेलम्बुमा परेको असरबारे एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका र साथसाथै फाउन्डेसनको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा जलवायु परिवर्तनको असर र न्यायका विषयमा छलफल गरिएको थियो । जलवायु परिवर्तनका कारण हेलम्बुलाई पसेकाे समस्यामा न्यायका लागि गाउँपालिका र साथसाथैबिच सहकार्य गर्ने सम्झ‌ाैता पनि भएकाे छ ।

कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनकै कारण हेलम्बुले प्राकृतिक परिवर्तन मात्र नभई महाविपत्ती समेत भोग्नुपरेको बताए ।”हेलम्बुको स्याउ भनेर परिचीत यो क्षेत्रमा स्याउ फल्नै छोड्यो, लामखुट्टे लाग्न थाल्यो, हिउँ पर्नै छोड्यो, याकहरु लोप हुन थाल्यो । त्यति मात्रै होइन आजभन्दा डेढ बर्ष पहिला तेत्रो बाढी पहिरोबाट जनधनको क्षतिहुँदा राज्यकिन बोल्दैन ?” उनले अगाडि भने ” यो महाविपत्ती आउनुमा हेलम्बु को के दोष थियो ? राज्यको नीति तथा कार्यक्रममा किन समेटिएन ? हामीले कहाँबाट न्याय पाउने ?”
हेलम्बुको मुद्दा  अन्तर्राष्ट्रियकरण भैसकेकोले अब न्याय पाउने कुरामा आशावादी रहेको उनको भनाइ थियो  ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा.राधा वाग्ले, नास्ट्का पुर्व उपकुलपति डा.जिबराज पोख्रेलले जलवायु परिवर्तन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका गरेका थिए ।
कृषि विभागका सबनम सिवाकोटी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.प्रभु बुढाथोकीले कार्यपत्र माथि टिप्पणी गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य डा.बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताइन् ।
साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्किले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने बताइन ।

प्रकाशित मिति:     २ माघ २०७९, सोमबार  |    Himali Khabar