‘पत्रकारितामा मैले गरेको लगानी हस्तान्तरण गर्दै राजनीतिमार्फत समाजसेवामा क्रियाशील हुन्छु’

‘पत्रकारितामा मैले गरेको लगानी हस्तान्तरण गर्दै राजनीतिमार्फत समाजसेवामा क्रियाशील हुन्छु’

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाको माओवादी केन्द्रको गाउँपालिका कमिटी अध्यक्षमा प्रकाश खालिङ चयन भएका छन् । पछिल्लो समय माओवादी केन्द्रले बिधान संशोधन गरेपछि स्थानीय तह, प्रदेश र केन्द्रीय कमिटीलाई कार्यकारी बनाउने र जिल्लालाई समन्वय समिति मात्रै बनाएपछि जिल्ला समन्वय समितिको सदस्य तथा प्रचार विभाग प्रमुखसँगै माप्य दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षमा चयन भएका हुन ।

२०५९ सालमा अनेरास्ववियु क्रान्तिकारी बासाखाली माविको सचिव भएर विद्यार्थीबाट राजनीति सुरु गरेका खालिङ जनसांस्कृतिक एरियामा आबद्ध हुँदै २०६४ सालमा काठमाडौंको आरआर क्याम्पस अनेरास्ववियु क्रान्तिकारीको कमिटी सदस्य भएर राजनीतिमा थप सक्रियता बढाएका थिए ।

त्यसपछि व्यवसायिक पत्रकारितामा जोडिएका खालिङ क्रान्तिकारी पत्रकार संघ, प्रेस सेन्टरको प्रदेश नम्बर एकको सहसचिव, एमाले र माओवादी एकतापछि बनेको प्रेस संगठन नेपालको प्रस्तावित केन्द्रीय सदस्य समेत थिए । २०६४, २०७० र २०७४ को स्थानीय तह, प्रदेश र संघीय चुनावमा आफ्नो क्षेत्रको चुनावी कमाण्डरको भूमिका निर्वाह गरेका थिए ।

पेशाले पत्रकार भएपनि राजनीतिक जिम्मेवारी लिएको भन्दै आलोचना गर्नेहरुलाई उनले भनेका छन् ‘मैले हिजो पत्रकारितालाई पेशा र व्यवसाय बनाएर क्रियाशील रुपमा लागे, त्यसबखत थुप्रै सफलता र अनुभवहरु प्राप्त गरियो । त्यतिखेर पनि विभिन्न रुपबाट सामाजिक सेवामा आबद्ध भइयो, आजको आवश्यकताले गर्दा क्रियाशील राजनीतिमा लागियो । अब पत्रकारितामा मैले गरेको सम्पूर्ण लगानी एउटा विशुद्ध व्यवसायमा अगाडि बढाउने टिमलाई हस्तान्तरण गर्दै राजनीतिमार्फत समाजसेवामा क्रियाशील हुने छु ।’

प्रकाशित मिति:     ६ आश्विन २०७८, बुधबार  |    Himali Khabar