राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल

राजस्व छलीको आशंकामा क्रिष्टल डिस्टिलरीमा शिल

बुटवल। राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ । नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ । तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन आनाकानी गरेको छ ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराइमा अनुसन्धान जारी रहेको र केही दिनमा नक्कली अन्तशुल्क स्टिकर कुन उद्योगमा प्रयोग भइरहेको छ भन्ने खुल्ने बताए ।

रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । लु २ च २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । दुवै जनालाई अहिले पनि प्रहरी नियन्त्रणमा राखी अनुसन्धान जारी राखिएको छ ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar