भागरथी घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

भागरथी घटनाको अनुसन्धानमा खटिएका दुई प्रहरीको एक तह बढुवा

काठमाडौं, १३ फागुन । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा खटिएका प्रहरीको बढुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनामा खटेर अनुसन्धानमा संलग्न दुई प्रहरीलाई एक तह बढुवा गरेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन्। त्यस्तै, इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन्।

बढुवा भएका दुवै जनालाई बिहीबार प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तम सुवेदीले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले घटना अनुसन्धानमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधान कार्यालयले उनीहरूलाई बुधबार बढुवाको निर्णय गरेको बताए।

त्यस्तै सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित ५ जना पुरस्कृत भएका छन्।

प्रकाशित मिति:     १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar