लुम्बिनीको मुख्यमन्त्री बन्दै कुलप्रसाद केसी

लुम्बिनीको मुख्यमन्त्री बन्दै कुलप्रसाद केसी

काठमाडौं । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि बिहीबार नयाँ सरकार गठन हुँदै छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि आह्वान गरिसकेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै शेरचनले नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आज दिउँसो ३ बजेसम्मको समय दिएको छ । विपक्षी गठबन्धनसँग सरकार गठनका लागि आवश्यक संख्या भएकाले प्रदेश प्रमुखसँग कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाले दाबी पेश गर्ने तयारी गरेका छन् । गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै छन् । ८० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४१ सदस्यको आवश्यकता पर्छ।

नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी गठबन्धनमा ४१ सांसद रहेका छन् । लुम्बिनीमा जसपाका ६सांसद भएको भएपनि एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै ३ सांसदलाई जसपाले कारबाही गर्दै पदमुक्त गरिसकेको छ ।

यता नेकपा एमालले भने सरकार गठनका लागि दाबी नगरी विपक्षमा रहने तयारी गरेको छ ।

प्रकाशित मिति:     २८ श्रावण २०७८, बिहीबार  |    Himali Khabar