कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ

धनगढी । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने १५ वर्षीया किशोरी ती किशोरीकी १४ वर्षकी साथीलाई पक्राउ गरेको बताए । घरायसी रिसइबीका कारण बालकको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारीले जानकारी दिए ।

१५ वर्षकी किशोरीले बालकलाई जामुन खान भनी आफूसँगै लगेको र जमरा कुलोको किनारबाट धकेलेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घरदेखि करिब पाँच सय मिटर उत्तरतर्फ कुलोमा पुगेपछि बालकले खुट्टामा लगाएको चाँदीका बाला निकालेर बालकलाई धकेलेर कुलोमा फालेको किशोरीले स्वीकार गरेका छन् । घटना खुल्ने डरले उनी साथीको घरमा गएर किताब लगेको, चाँदीका बाला साथीलाई लुकाउन दिएको पनि अनुसन्धानबाट खुलेको छ ।

लम्कीचुहा नगरपालिका–६ घर भएकी १४ वर्षकी अर्की किशोरीलाई बाला लुकाउन दिएको र बजारमा बिक्रीको प्रयाससमेत गरेको देखिएको प्रहरीको भनाइ छ । उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar