म्याग्दीमा २३८ मेगावाटका १३ जलविद्युत् आयोजना

म्याग्दीमा २३८ मेगावाटका १३ जलविद्युत् आयोजना

म्याग्दी । म्याग्दी जलविद्युत्‌को ‘हब’को रूपमा विकास हुन थालेको छ। निर्माणाधीनसहित जिल्लाभर २३८।२३ मेगावाट क्षमताका १३ वटा जलविद्युत्‌ छन्। नेपाल विद्युत् प्राधिकरणले उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सबस्टेशन बनाउन थालेपछि निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएका छन्।

प्राधिकरणले मालिका गाउँपालिका–७ मा १३२ केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्‍याएको छ। सन् २०२४ भित्र डाँडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए।

उनका अनुसार यो आयोजनाले मालिका गाउँपालिकाको शिवरात्री खोलादेखि भारबाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी पहुँचमार्ग खोलेको छ। त्यस्तै हाइड्रो इम्पायर प्रालि काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत्‌ आयोजना निर्माणको अनुमति लिएको छ।

आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ र विद्युत्गृहको काम थालिएको बताएका छन्। उनका अनुसार सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ।

धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माण अनुमति पाएका छन्। ५३ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४।७० मेगावाटको मुदीखोला र ५७।३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्‌ आयोजनाले पनि निर्माणको अनुमति लिएका छन्। अपर म्याग्दी जलविद्युत्‌ आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ। धवलागिरि–४ मा २३।७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत्‌ आयोजना निर्माणाधीन छन्।

त्यस्तै एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि–४ मा १४।७० मेगावाट क्षमताको मुदिखोला, सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत्‌ आयोजना निर्माणका लागि अनुमति पाएका छन्।

प्रकाशित मिति:     १८ श्रावण २०८०, बिहीबार  |    Himali Khabar