काठमाडाैं । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आसन्न स्थानीय तहकाे निर्वाचनमा नेविसंघ पृष्ठभूमिका नेताहरूलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आज नेविसंघ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा अध्यक्ष शेर्पाले कांग्रेस सभापति शेरबहादुर देउवासहित शिर्ष नेतृत्व सहभागी कार्यक्रममै यस्ताे आग्रह गरेका हुन् ।
अहिले नेविसंघ पृष्ठभूमिका धेरै नेता ३२ वर्षे उमेरहद लागू भएपछि भूमिकाविहन छन् । अध्यक्ष शेर्पाले नेविसंघमा काम गरेका नेताहरूलाई स्थानीय तहमा भूमिका दिँदा त्यसले कांग्रेस बलियाे बनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा सभापति देउवाले नेविसंघकाे संगठन विस्तारमा ध्यान दिन निर्देशन दिए । अध्यक्ष शेर्पाले कांग्रेसकाे पक्षमा देशव्यापी माहाेल बनाउन नेविसंघले कुनै कसर बाँकी नराख्ने बताए ।कार्यक्रममा सभापति देउवाले नेविसंघ एपकाे पनि शुरूवात गरेका थिए । कार्यक्रममा नेविसंघका संस्थापकहरूलाई सम्मान गरिएकाे थियाे ।