काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका सांसद् शशांक कोइरालाई सात दिनभित्र जवाफ दिन भनेको छ। कोइरालाको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
कोइरालाले आफ्नो निर्वाचन खर्चको विवरणमा आयोगसमक्ष २१ लाख ७५ हजार रुपैयाँ पेस गरेको आयोगको अभिलेखबाट देखिने उनले बताए। ‘तर, विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनुभएको अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के कसो भएको हो, सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ’, नियमित पत्रकार सम्मेलनमा पौडेलले भने।