विद्यार्थी आन्दाेलनका सिर्जनशिल नेता दुजाङ, जसकाे काँधमा नेविसंघकाे जिम्मेवारी

विद्यार्थी आन्दाेलनका सिर्जनशिल नेता दुजाङ, जसकाे काँधमा नेविसंघकाे जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले दुजाङ शेर्पालाई नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गरेको छ। कांग्रेस कार्यसम्पादन समितिले ३२ वर्षे उमेरहद लगाएर नयाँ नेतृत्व ल्याउने गरी निर्णय गरेपछि शेर्पा अध्यक्ष बनेका हुन्।

०७५ माघ २८ गते नैनसिंह महरले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्षमा कांग्रेसले बुधबार शेर्पालाई नियुक्त गरेको हो। शंकरदेव क्याम्पसका नेविसंघ नेता शेर्पा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन्।

नवनियुक्त अध्यक्ष शेर्पाले पार्टीले आफूलाई दिएको जिम्मेवारी इमादारीसाथ पूरा गर्ने बताए। विद्यालय पुग्न नसकेकालाई कक्षाकोठामा पुर्‍याउने र अध्ययन गरिरहेकालाई गुणस्तरीय शिक्षा दिलाउने विषय अब नेविसंघको मुख्य मुद्दा बन्ने उनले बताए।

नेपालको विद्यार्थी आन्दोलनलाई अझ जिम्मेवार र सशक्त बनाउनेतर्फ ध्यान केन्द्रित हुनेछ उनको भनाइ छ ।

त्यस्तै उनले आउँदो निर्वाचनमा कांग्रेसका पक्षमा माहोल बनाउन देशभर लाखौं विद्यार्थी परिचालन गर्ने पनि बताए। वाइडबडी काण्ड, यती होल्डिङ्सलगायतका अनियमितताको आन्दोलनमा शेर्पाले तत्कालीन केपी ओली सरकारविरुद्धको आन्दोलनका बेला नेतृत्वदायी भूमिका खेलेका थिए। कोरोना महामारीका बेलामा खटिएका फ्रन्टलाइनरका सम्मानमा रत्नपार्कको आकाशेपुलमा शेर्पाकै नेतृत्वमा बनाइएको पेन्टिङ काठमाडौं महानगरले मेटेको विषयले चर्चा पाएको थियो। शेर्पा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन सक्ने शाली नेताका रुपमा नेविसंघभित्र चिनिन्छन्।

प्रकाशित मिति:     १० चैत्र २०७८, बिहीबार  |    Himali Khabar