पार्टी कार्यालय सानेपाको अनसन तोडाउने जिम्मा महत दाजुभाइलाई

पार्टी कार्यालय सानेपाको अनसन तोडाउने जिम्मा महत दाजुभाइलाई

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा १३ दिनदेखि अनसन बसेकाहरूसँग छलफल गर्दै सहमति निर्माण गरेर अनसन तोडाउने जिम्मेवारी दुई जना नेताले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले पार्टी कार्यालयमा जारी अनसन तोडाने जिम्मेवारी सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य रामशरण महतलाई दिएको छ।

दाजु रामशरण वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन् भने सहमहामन्त्री प्रकाशशरण सभापति देउवा निकट छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बाराका पौडेल पक्षका नेता तथा कार्यकर्ता १३ दिनदेखि धर्नामा छन्। सभापति देउवा पक्षका बाराका नेताहरू बिहीबारदेखि पार्टी कार्यालयमै काउन्टर धर्नामा बसेका छन्।

पौडेल पक्षका बाराका नेता तथा कार्यकर्ता क्रियाशील सदस्यता वितरणमा धाँधली भएको विरोधमा धर्ना बसेका हुन्। तर देउवा पक्षका नेताहरू भने जिल्ला कार्यसमितिले पारित गरिपठाएका सबै क्रियाशील सदर गर्नुपर्ने मागसहित धर्नामा छन्।

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar