जेल भन्दा बाहिर रहेका पनि आममाफी

जेल भन्दा बाहिर रहेका पनि आममाफी

काठमाडौं, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले कारागार भन्दा बाहिर रहेका ८ जनालाई पनि आममाफी दिएकी छिन्। विभिन्न मुद्दामा अदालतबाट फैसला भएर सजाय भुक्तान गर्न बाँकी रहेका ८ जनालाई राष्ट्रपतिले आममाफी दिएकी हुन्।

सामान्यतया कारागार विभागबाट सिफारिस भएकाहरुका कैद मिनाहा हुने गरे पनि जेलबाहिरै रहेका ८ जनालाई भने गृहमन्त्रालयको सिफारिसमा आममाफी दिइएको हो। सजाय सुनाइएका तर कैद भुक्तान गर्न बाँकी रहेका व्यक्तिहरुको निवेदनका आधारमा गृहले कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी हुन्।

प्रजातन्त्र दिवसका अवसरमा यसरी आममाफी पाउनेमा राजनीतिक पहुँचमा रहेका व्यक्तिहरु रहेको श्रोतको दाबी छ। मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा १५९ बमोजिम उनीहरुको कैद मिनाहा भएको हो। यस्तै सोही प्रावधानमा टेकेर राष्ट्रपति भण्डारीले ५० प्रतिशत कैद भुक्तान नगरेका अन्य ८ जनालाई पनि बाँकी रहेको कैद मिनाहा गरेकी छिन्। यसरी कैद मिनाहा हुनेहरुमा सिरहा कारागारका २ जना, दाङको तुलसीपुर र घोराही कारागारका ५ जना र जगन्नाथदेवल कारागारमा रहेका १ जना छन्। यस्तै ५० प्रतिशत कैद भुक्तान गरेका ५८० जनाको पनि कैद मिनाहा भएको छ। जसमा १५९ जनाले कर्तव्य ज्यानमा जन्मकैदको सजाय पाएका थिए। उनीहरु मध्ये ३२ जना घटनाका बखत नाबालिग भएका आधारमा बाँकी कैद मिनाहा भएको हो।

७५ वर्ष भन्दा माथि रहेका ६ जनाले पनि आम माफी पाएका छन्। उनीहरु मध्ये ५ जना लागुऔषध मुद्दाका हुन्। यस्तै पहिलोपटक बहुविवाह मुद्दामा जेल परेका ८४ जनाले पनि आममाफी पाएका छन्।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar