कांग्रेस पदाधिकारी बैठक शुक्रबार सर्‍यो

कांग्रेस पदाधिकारी बैठक शुक्रबार सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको आज बस्‍ने भनिएको पदाधिकारी बैठक शुक्रबारका लागि सरेको छ । नेताहरूले प्रयाप्त तयारी नपुगेको बताएपछि सभापति शेरबहादुर देरउवाले पदाधिकारी बैठक शुक्रबारका लागि सारेका हुन् । देउवाको सचिवालयका अनुसार समय अझै निश्चत भएको छैन ।

क्रियाशील सदस्यता छानबिनमा देखिएको विवादबारे मापदण्ड बनाउने र समितिले मागेको पेश्कीका विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको थियो । इकागजले पेश्की मागेको पत्रसहितको समाचार प्रकाशित गरेपछि त्यसबारेमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले सभापति देउवासँग जिज्ञासा राखेका थिए । बुधबार बसेको पौडेल समूहको बैठकमा पनि पेश्कीबारे कुरा उठेको थियो ।

बैठकले क्रियाशील सदस्यता छानबिनबारे मापदण्ड पारित गर्ने कार्यतालिका थियो । त्यसविषयमा नेताहरूले तयारी नपुगेको बताएपछि बैठक स्थगित भएको हो ।

प्रकाशित मिति:     १७ असार २०७८, बिहीबार  |    Himali Khabar