काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मात्र प्रतिनिधिसभा बैठकबाट दुईतिहाइ सांसदको विश्वासको मत पाउनुभयो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।
नेकपा एमालेका अध्यक्ष ओलीलाई नेपाली कांग्रेस, एमाले, जनमत, जसपा, जसपा नेपाल र लोसपालगायतले विश्वासको मत दिए। विश्वासको मत दिने ६ दल मध्ये सरकार बाहिर रहेको २ दल त्यसमा पनि ६ सिट रहेको जनमत पार्टी ओली सरकारको मन्त्रीपरिषद्मा सहभागी छैन । मधेश प्रदेशमा मुख्यमन्त्री पाएको जनमतले केन्द्र सरकारमा सहजै जाने अनुमान गरिएता पनि २२ वटै मन्त्रालयमा मन्त्री नियुक्ती भएकाले अब ओलीलाई समर्थन गरेको जनमतले के गर्न भन्ने चासो थियो ।
आइतबार जनमतले ओलीलाई विश्वासको मत पनि दियो । तर विश्वासको मत दिएको भोली पल्टै जनमत पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री अब्दुल खानले छिटै ओली मन्त्रीमण्डलमा एक मन्त्रालयसहित सहभागि हुने जानकारी दिनुभएको छ।
मधेश प्रदेशमा कांग्रेस–एमालेको समर्थनमा जनमतले सरकार गठन गरेपनि कांग्रेसले मागेको मन्त्रालय नपाएपछि केही समय मन्त्रीमण्डल विस्तार गर्न रोकिएको थियो । तर जनमतले कांग्रेसलाई अर्थसहितका महत्वपूर्ण मन्त्रालय दिन तयार भएसँगै मधेश प्रदेश सरकारले पूर्णता पाएको हो । मधेशमा कांग्रेसले मागे अनुसारकै मन्त्रालय दिएर सरकारलाई पूर्णता दिएको जनमतले अब केन्द्रमा एक मन्त्रालयसहित सरकारमा सहभागिताको लागि छलफल थालेको छ ।
हिमाली खबरसँग कुराकानी गर्दै खानले भने –शीर्ष दलहरु आफ्नो मागमा सकारात्मक हुनुहुन्छ, हामीलाई पनि सँगै साथमा लिएर जाने उहाँहरुको पनि इच्छा भएकाले हामी अबको एक साता भित्र सरकारमा सहभागि हुनेछौ ।
मन्त्रीपरिषद्ले पूर्णता पाइसकेकाले मन्त्रालयको व्यवस्थापन कसरी गर्ने भन्ने कांग्रेस–एमालेले छलफल गरेर छुट्याउने विश्वास उहाँले बताउनुभयो । अहिलेको मन्त्रीमण्डलमा समावेशीताको प्रश्न समेत उठिरहदा त्यसलाई सम्बोधन गर्ने गरि पार्टीले मन्त्री पठाउने तयारी रहेको जनाइएको छ।
माग गरे अनुसार एउटा मन्त्रालय पनि नदिए बाँकी रहेको ३ वटै राज्यमन्त्री आफूले पाउनुपर्ने माग पनि जनमतले राखेको छ ।