भागरथी हत्याका दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन कांग्रेसको माग

काठमाडौं, ३० माघ । नेपाली कांग्रेसले भागरथी हत्याका दोषीलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन माग गरेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले बैतडी जिल्लाको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।

भागरथीको हत्या भएको दोस्रो साता पुग्दासमेत पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नु परेको भन्दै कांग्रेसले घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ। ‘अनुसन्धान तीव्र बनाउन, दोषी अविलम्ब पक्राउ गर्न, बैतडी घटनासँगै देशभरका सबै यस्ता घटना विरुद्ध राज्यको अस्तित्व प्रभावकारी बनाउन नेपाली कांग्रेस प्रधानमन्त्री समक्ष माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बलात्कार र बलात्कारपछि हत्याको जघन्य अपराध बढ्नु गम्भीर चिन्ताको विषय बनेको कांग्रेसले बताएको छ।

प्रकाशित मिति:     ३० माघ २०७७, शुक्रबार  |    Himali Khabar