काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोलेका गिरीले संविधान बचाउनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
‘आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ। शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ। प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन,’ उनले भने।
यो संविधानलाई बचाएर यसैमा टेकेर अगाडि बढ्नुपर्ने उनले बताए। यो संविधानलाई बचाएर अगाडि बढ्ने हो कि २०४७ सालको संविधानजस्तै विजोग गर्ने हो ? अथवा चुच्चे नक्साजस्तै विजोगमा लैजाने हो भन्दै प्रश्न गरे ।
उनले चुनावमा जाने भए सबै मिलेर जानुपर्ने बताए। तर चुनावमा जाँदा सहमतिमा जानुपर्ने उनको भनाइ छ। सानो समूहले २०४७ सालको संविधान नमानेर आजको अवस्था आइपरेको उनले बताए।