म्याग्दी ः एमालेको ह्याट्रिक रोक्ने दाउमा कांग्रेसका खम्बिर

म्याग्दी ः एमालेको ह्याट्रिक रोक्ने दाउमा कांग्रेसका खम्बिर

काठमाडौँ । म्याग्दीमा नेकपा एमाले यसपटक ह्याट्रीकको दाऊमा छ । उता कांग्रेस भने एमालेको ह्याट्रीक योजना विफल पार्न योजनासहित मैदानमा छ । २०५६ सालमा कांग्रेसका नारायणसिंह पुन र २०६४ मा माओवादीका गोविन्द पौडेलले याहाँबाट चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमाले मंसिर ४ मा पनि जित निकाल्ने दाबीसहित मत मागिरहेको छ ।

कांग्रेस जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) तेस्रोपटक संसदीय चुनावी मैदानमा छन् । दुईपटक हार व्यहोरेका गर्बुजालाई यसपटक सत्तारूढ दल माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादीको साथ छ । एमालेबाट प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठ उम्मेदवार छन् । २०७० को निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतले पराजित भएका गर्बुजा २०७४ सालमा एमालेकै भूपेन्द्र थापासँग २ हजार बढी मतले पराजित भए ।


ग्त स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले ८ हजार ५ सय ९२ मत ल्याएका छन् । यसरी हेर्दा सत्ता गठबन्धन निकै अगाडी देखिन्छ । श्रेष्ठ र गर्बुजा राजनीतिमा निकै चतुर मानिन्छन् । गर्बुजा गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि राजनीतिमा सक्रीय छन् । २ वटा चुनावमा पराजित भएपनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको, जनताको काम गरेको र गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाइ छ ।


गर्बुजा भन्छन्, ‘चुनाव हारे पनि जनताको सेवामा लागिरहेको छु । विचलित भएको छैन । अब संसदमा गएर नागरिकका समस्या राख्छु । जिल्लाको विकासमा योगदान दिन्छु भनेर मत मागिरहेको छु ।’ टोलस्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको भएकाले चुनाव जित्ने गठबन्धनको चुनाव परिचालन समिति संयोजक कर्णबहादुर भण्डारीले दाबी गरे ।


६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र छन्। उम्मेदवारहरु ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत्, पर्यटन, कृषि, जलविद्युत् र जडीबुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उम्मेदवारको प्रतिबद्धता छ।

प्रकाशित मिति:     २७ कार्तिक २०७९, आईतवार  |    Himali Khabar