काठमाडौं । अर्बपति व्यवसायी विनोद चौधरीले बाइक चढेर चुनावी प्रचार प्रसारमा लाग्नुभएको छ ।
सोमबार सामाजिक सञ्जालमार्फत् चौधरी स्वयंले लु ५६ प ९१५५ नम्बरको मोटरसाइकलको पछाडि बसेर चुनावी प्रचारमा हिँडिरहेको तस्वीर सार्वजनिक गर्नुभएको छ । चौधरी नेपाली कांग्रेसबाट नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यमा उम्मेद्वार हुनुहुन्छ ।
चौधरीका मुख्य प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी हुनुहुन्छ ।
‘अघिबढीसकेका छन् मेरा यी पाइलाहरु अब न थाक्ने छन्, न रोकिने नै छन्,’ चौधरीले लेख्नुभएको छ । सामाजिक सञ्जालमार्फत् उहाँले भन्नुभएको छ, ‘देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाइ अनि दाजुभाइबीच उभिएको छु । धेरै हेर्यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा,अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’