पर्वतारोहण गराउँनेलाई पर्यटन विभागले तोक्ने ११ वटा नयाँ नियम

पर्वतारोहण गराउँनेलाई पर्यटन विभागले तोक्ने ११ वटा नयाँ नियम

काठमाडौं, २६ फागुन । पर्वतारोहणको मुख्य याम शुरु हुँदै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तगर्तको पर्यटन विभागले यसलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाएको छ । कोरोना सङ्क्रमणका कारण गत वर्ष पर्वतारोहणको मुख्य समय अर्थात् वसन्तयाम नै प्रभावित भएपछि विभागले यस वर्ष थप व्यवस्थापनको उपाय अवलम्बन गरेको जनाइएको छ।

व्यवस्थापनका लागि विभागले पर्वतारोहणसँग सम्बन्धित सरोकारवालाका लागि विभिन्न ११ वटा नियम तोकेको छ । विभागका अनुसार एजेन्सीका तर्फबाट पर्वतारोहणसम्बन्धी कार्य गर्न आधिकारिक व्यक्ति नै खटाउनुपर्नेछ । पर्वतारोहण दलले पर्वतारोहणबाहेक अन्य थप गतिविधि गर्ने भएमा अनिवार्य जानकारी गराउँदै स्वीकृति लिएर मात्रै गतिविधि गराउनु पर्नेछ । कुनै पनि पर्वतारोही दल तथा दलका सदस्यले फोटो, भिडियो तथा फिल्मिङसम्बन्धी काम गर्दा आफूसम्बद्ध दल र दलका सदस्यको आरोहण गतिविधिबाहेक अन्यको फोटो भिडियो खिच्न नपाउने निर्देशन पनि विभागले जारी गरेको छ ।
त्यस्तै, पर्वतारोही दलका सम्पूर्ण सदस्य तथा आरोही सदस्यको स्वास्थ्य अवस्था पेस गर्दा पर्वतारोहणका लागि उपयुक्त भएको विवरण अनिवार्य पेस गर्नुपर्नेछ ।

पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले अनलाइन बिफ्रिङ भरेपछि मात्र विभागले आरोहण अनुमतिपत्र जारी गर्ने भएको छ । अनुमतिपत्र जारी भएको मौसम समाप्त भएको १५ दिनपछि मात्र आरोहणको प्रमाणपत्र जारी गर्ने कार्य सुरु हुने विभागले जनाएको छ । अनलाइन डिब्रिफिङ नभरेको हकमा आरोहण प्रमाणपत्र जारी नहुने पनि विभागले स्पष्ट पारेको छ ।विभागका अनुसार आरोहण दलका सम्पूर्ण सदस्यको यात्रा कार्यक्रम आरोहण अनुमतिपत्र जारी गर्ने समयमा पेस गर्नुपर्नेछ ।

त्यस्तै डिब्रिफिङ हुने समयमा आरोहण दलका सदस्यहरू काठमाडौँ आइपुगेको विवरणसमेत पेस गर्नुपर्नेछ । आरोहण दलसम्बद्ध एजेन्सीले पर्वतारोहण दलका साथ जाने सहयोगीको बीमा गर्दा पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ मा उल्लेखित व्यक्तिको कार्य भूमिकाबमोजिम (सरदार, पथ प्रदर्शक, उचाइका कामदार, आधार शिविरका कामदार, स्थानीय कामदार) को पदनाम राखेर मात्र बीमा गर्नुपर्ने विभागले उल्लेख गरेको छ । यस्तो नभएको अवस्थामा पनि आरोहणको प्रमाणपत्र जारी नहुने विभागले जनाएको छ ।

पर्वतारोहणमा जाने दलसम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समेटेर सफल÷असफल आरोहीको विवरणसहितको प्रतिवेदन पर्यटन विभागसमक्ष पेस गर्नुपर्नेछ ।
आपत्कालीन उद्धार गरिएका पर्यटक बिरामीलाई आधुनिक उपकरण भएका सुविधासम्पन्न अस्पतालमा मात्र लैजाने बन्दोबस्त गर्नुपर्ने सम्बन्धित वायुसेवा एजेन्सी सञ्चालकले गर्नुपर्ने पनि विभागले स्पष्ट पारेको छ । यसअघि सेवा तथा सीमित स्रोत साधन भएका अस्पतालमा पु¥याउने र बीमाबापतको रकम हिनामिना गरेको पाइएको थियो ।

विभागले उक्त प्रवृत्तिलाई निरुत्साहित गर्ने प्रयास गरेको हो । आरोहण सफल भएर विभागमा डिब्रिफिङको समयमा सम्बन्धित दलको सम्पर्क अधिकृत अनिवार्य उपस्थित भएर आफू खटिएर गएको दलको सम्पूर्ण विवरण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।

प्रकाशित मिति:     २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar