टानले सुरुवात गरेको ‘टान फुड बैंक’मा व्यवसायीबाट सहयोग जुट्दै

टानले सुरुवात गरेको ‘टान फुड बैंक’मा व्यवसायीबाट सहयोग जुट्दै

काठमाडौं । कोरोना संक्रमणका कारण रोजगारी गुमाएका पर्यटन क्षेत्रका श्रमिकहरुको दैनिकीलाई सहज बनाउन ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन नेपाल (टान) ले ‘टान फुड बैंक’ अवधारणा सुरु गरेको छ । केहिदिन अघिबाट सुरु गरिएको फुड बैंकमा पर्यटन व्यवसायीहरुबाट सहयोग जम्मा हुन थालेको छ ।

टानले कोरोना महामारीका कारण रोजगारी गुमाएर समस्यामा रहेका मजदुरको सहायताको लागि फुड बैंकको सुरुवात गरेको अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिए । ‘कोरोनाका कारण व्यवसाय प्रभावित हुँदा सबै कम्पनीहरुले आफ्ना श्रमिकलाई सहयोग गर्न सक्ने अवस्था छैन, ’ अध्यक्ष सुवेदीले भने, ‘त्यसकारण सक्ने सदस्य कम्पनीबाट सहयोग संकलन गरेर सबैलाई प्रदान गर्ने उदेश्यले यो अवधारणा अघिसरिएको हो । र अहिले सहयोग आउने क्रम चलिरहेको छ । ’

व्यवसायीहरुले केहिले नगद केहिले खाद्यवस्तु सहयोग गरिरहेकाले अब छिट्टै श्रमिकलाई प्रदान गर्ने भन्दै उनले अन्य सदस्य कम्पनीहरुलाई पनि सहयोगका लागि आग्रह गरे । कोरोनाले सबैभन्दा प्रभावित क्षेत्र पर्यटन हो । कोरोनाकै कारण डेढ बर्षदेखि पर्यटक आगमन ठप्प हुँदा लाखौं श्रमिक बेरोजगार बनेका छ्न ।

यस्तै असहज अवस्थामा सहयोग गर्ने उदेश्यले सुरुगरिएको ‘टान फुड बैंक’को औपचारिक घोषणा भने टानकाे ४३ औं स्थापना दिवस (मे २९ तारिख) का दिन गरिने अध्यक्ष सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति:     १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar