नारायणहिटी चतुर्ब्युह नारायण मन्दिरमा शाक्यमुनी वुद्ध भगवानको प्रतिमा स्थापना

नारायणहिटी चतुर्ब्युह  नारायण मन्दिरमा शाक्यमुनी वुद्ध भगवानको प्रतिमा स्थापना

काठमाडौं । दरबारमा रहेको नारायणहिटी चतुुब्र्यूह नारायण मन्दिरमा शाक्यमुनी वुद्ध भगवानको प्रतिमा स्थापना गरिएको छ।  श्री नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिद्वारा स्थापना गरिएको वुद्ध भगवानको प्रतिको आज प्राण प्रतिष्ठा गरि राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधान मन्त्री कृष्णप्रसाद सिटौलाले अनावरण गर्नुभयो ।

बर, पिपल र स्वामिको एउटै रुख मुनि उक्त शाक्यमुनी वुद्ध भगवानको प्रतिमा स्थापना गरिएको छ । यो रुख नै विश्वकै दूलर्भ हो । नारायणहिटी चतुुब्र्यूह नारायण मन्दिर परिसर भित्र विभिन्न देविदेवताका मन्दिर तथा मुर्तिहरु रहेका थिए । अब वुद्ध भगवानको प्रतिमा समेत स्थापना भएसँगै हिन्दु र बौद्ध धर्मावलम्वीहरुको एकै स्थानमा आस्थाको केन्द्र बन्ने विश्वास लिइएको गुठीका अध्यक्ष रोहिणी प्रसाद पौडेलले बताउनुभयो ।  

प्रतिमा अनावरण कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान, तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटी, वागमती प्रदेश सभा सदस्य याङकिला शेर्पा, प्राध्यापक गुणनीधि न्यौपाने, ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमला लगायतको सहभागिता रहेको थियो ।
 
काठमाडौं उपत्यकाका चार प्रमुख नारायणहरू भक्तपुरको चाँगु नारायण, काठमाडौंको इचंगु नारायण,शेष नारायण र ललितपुरको विशङ्खु नारायणको दर्शन गरेपछि नारायणहिटी चतुुब्र्यूह नारायण मन्दिरको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास रहि आएको पिठाधिश नारायण पौडेलले जानकारी दिनुभयो ।

यस्तै नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले वुद्धको प्रतिमा निर्माण गरेसंगै यो क्षेत्र हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा विकास हुने आशा व्यक्त गर्नुभयो । साथै उहाँले पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुलाई यहीँसम्म ल्याउने गरि प्रचारप्रसार गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

नारायण मन्दिर कहिले र कसले बनायो भन्ने बारे ठोस प्रमाण नभए पनि गोपालराज वंशावलीमा विष्णुगुप्तले नारायण मन्दिर बनाए भन्ने कुरा उल्लेख भएकाले सो मन्दिर सातौं शताब्दीमा बनेको आँकलन गर्न सकिन्छ । नारायण मन्दिरले तत्कालीन समयको वैष्णव आस्था पनि झल्काउने गरेको छ । उक्त मन्दिरमा विशेष गरि  कृष्णजन्माष्टमी र रामनवमीमा विशेष मेला लाग्ने गर्दछ । 

प्रकाशित मिति:     २५ फाल्गुन २०८०, शुक्रबार  |    Himali Khabar