काठमाडौं, २७ फागुन । फागुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् ।
पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यी मध्ये पनि फागुन कृष्ण त्रयोदशीमा मनाइने शिवरात्रिको विशेष महत्व रहेको मानिन्छ । भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास रही रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । यस दिन भगवान शिवलाई जाडो हुने जनविश्वासका कारण प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन छ ।
आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई पाँच वटा लाइनबाट मन्दिरसम्म पुग्ने ब्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र बिकास कोषले यस बर्षको शिवरात्रीमा ३ लाख भक्तजनले दर्शन गर्ने अनुमान गरेको छ भने ७ हजार प्रहरी परिचालन गरिएको छ ।