पर्यटन क्षेत्रलाई पूर्ववत् स्थितीमा फर्काउन सरकारलाई व्यावसायीको तीन सुझाव

पर्यटन क्षेत्रलाई पूर्ववत् स्थितीमा फर्काउन सरकारलाई व्यावसायीको तीन सुझाव

काठमाडौं । कोरोना महामारीका कारण पर्यटन क्षेत्र ठप्प भएपछि यससँग सम्बद्ध व्यवसायीहरूले स्वास्थ्य मापदण्डसहित पर्यटन क्षेत्र खुला गर्न पटक पटक आग्रह गरेको डेढ वर्ष भइसक्यो । तर पनि यसमा सरकारको खासै चासो नदेखाएको व्यावसायीहरूको गुनासो छ ।

पर्यटन क्षेत्रलाई पूर्ववत् स्थितिमा फर्काउनका लागि तत्काल तीनवटा काम गरिहाल्न व्यवसायीहरूको सरकारलाई सुझाव छ । आज नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै पर्यटनसँग आबद्ध अधिकारीहरूले यस्तो सुझाव दिएका हुन् ।

पर्यटनलाई फेरि पुरानै अवस्थामा फर्काउनका लागि धेरै काम गर्नुपर्ने र ती सबै काम एकैपटक सम्भव नहुने बताउँछन् बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । एकैपटक सबै काम गर्न नसकिने हुँदा तत्कालको लागि मुख्य रुपमा तीवटा काममा मात्रै ध्यान दिए पुग्ने उनले बताए ।

पहिलो, दुवै मात्राको खोप लगाइसकेका र ९३ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट लिएर आउनेलाई क्वारेन्टिन बस्न नपर्ने वातावरण बनाउने, दोस्रो, अनअराइभल भिजाको व्यवस्था पुनः लागू गर्ने र तेस्रो, नेपालका पर्यटनकर्मी र मुख्य गन्तव्यका स्थानीयले खोप लगाइसकेको सन्देश दिँदै ट्राभल एडभाइजरी जारी गर्न आग्रह गरेका छन् ।

यी तीन विषयलाई अहिले प्राथामिकताका साथ अघि बढाए अन्य समस्या विस्तारै सल्टाउन सकिने जोशी बताउँछन् ।

विश्वव्यापी कोरोना महामारीका कारण सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटन आगमन संख्यामा ८१ प्रतिशतले गिरवाट आएको छ । त्यस्तैगरी यो क्षेत्रमा प्रत्यक्ष रुपमा हुने अर्बौंको आम्दानी गुमेको छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा रोजगारमार्फत जोडिएका १० लाख जनशक्तिको रोजगार गुमेको छ भने करिब २५ प्रतिशत भन्दा बढी पर्यटन व्यवासयी तथा उद्यमीहरू फेरि कहिल्यै यस क्षेत्रमा नफर्किनेगरि पलायन भएका छन् ।

अब पनि सरकारले पुनरुत्थानको उपाय नखोज्ने हो भने यसको संख्या अझै बढ्ने व्यवसायीहरूको निचोड छ ।

प्रकाशित मिति:     २७ भाद्र २०७८, आईतवार  |    Himali Khabar