विकास आयोजनामा स्थानीय जनताको लगानी सहभागिता आवश्यक : अर्थमन्त्री शर्मा

विकास आयोजनामा स्थानीय जनताको लगानी सहभागिता आवश्यक : अर्थमन्त्री शर्मा

काठमाडौं, २३ भदौ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी सहभागिताको लगानी मोडालिटीमा स्थानीय जनतालाईसमेत सहभागि गराउनुपर्ने बताएका छन् । लगानी बोर्ड नेपाल स्थापनाको १० बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उनले भने ‘पीपीपी मोडलमा अर्को एउटा ‘पी’ अर्थात पिपुललाई थप्नुपर्छ । आयोजना प्रभावित क्षेत्रका जनतालाई सहभागी नगराउदा निर्माण प्रक्रियामा अवरोध हुने र आयोजनाको लागतसमेत बढ्ने गरेको छ । त्यसैले लगानीको ‘थ्री पी’ मोडललाई ‘फोर पी’ मा परिणत गर्नुपर्छ ।’
नेपालमा उपलब्ध तुलनात्मक रुपमा सस्तो श्रम शक्ति र अथाह प्राकृृतिक स्रोत साधन नै मुख्य पुँजी भएको भन्दै मन्त्री शर्माले त्यसको परिचालनमार्फत विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले ठूलठूला आयोजना निर्माणको लागि निजी क्षेत्रको लगानी सहभागिताको आवश्यकता औंल्याए । यस्तै पर्याप्त बैदेशिक लगानी भित्र्याएर देशभित्रै उत्पादन तथा रोजगारीका अवसरहरु सृजना गर्न सकिने उनको भनाइ छ । यसबाट व्यापार घाटा न्यूनिकरण हुनुको साथै युवाहरुले देशभित्रै रोजगारी पाउने अवस्था सृजना हुने मन्त्री शर्माको विश्वास छ ।

प्रकाशित मिति:     २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar