काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूको नवीकरण गर्ने म्याद थपेको छ । विभागले कोभिड–१९ महामारीबाट सिर्जित प्रभाव दृष्टिगत गरेर एक वर्षका लागि निःशुल्क नवीकरण हुने जनाएको हो ।
त्यस्तै भदौ ११ गतेअघि नै इजाजतपत्रको नवीकरण गराइसकेका संस्थाको इजाजतपत्रको म्याद पनि निःशुल्क एक वर्ष थपिने विभागले जानकारी दिएको छ । विभागले विदेशी विनिमय कारोबार गर्ने निकायहरूका लागि एकीकृत परिपत्र २०७६ मा पनि केही संशोधन र केही व्यवस्था थप गरेको हो ।
विभागले जारी गरेको परिपत्रअनुसार विदेशी विनिमय कारोबारमा एक पटकमा तीन हजार पाँच सय अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मका लागि मात्र सटही सुविधा हुुनेछ । यस्तो रकमसम्मको सीमाका लागि लाभग्राहीको बिजनेस क्रेडिबिलिटी इन्फरमेसन (बीसीआई) अनिवार्य नहुने पनि स्पष्ट पारेको छ ।
तर कोभिड–१९ बाट सिर्जित स्वास्थ्य समस्यालाई रोकथाम तथा न्यूनीकरणका लागि सहजीकरण गर्ने औषधिजन्य सामग्री वा स्वास्थ्य उपकरणहरूको आयातको हकमा भने एउटै बिजकबाट एक लाख अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम ड्राफ्ट/टीटीको माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।