एसईई दिएका विद्यार्थीलाई टेलिकमले १ महिनासम्म कल र डाटा निःशुल्क दिने

एसईई दिएका विद्यार्थीलाई टेलिकमले १ महिनासम्म कल र डाटा निःशुल्क दिने

काठमाडौं । नेपाल टेलिकमले एसइइका विद्यार्थीका लागि एसईई अफरसहितको निःशुल्क सीम उपलब्ध गराउने भएको छ । उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयबाट निःशुल्क उपलब्ध हुनेछ ।

विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था समेत गरिएको टेलिकमले जानकारी दिएको छ । नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ ।

सिम लिइसकेपछि स्टुडेन्ड रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट स्टार १६०० ह्याच डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्नेछ । उक्त प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यसअनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । उल्लिखित सुविधाहरु नेपाल टेलिकमको नेटवर्कमा मात्र लागू हुनेछ ।

यो अफर भएको नयाँ सिममा बोनस अफ रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ । यस प्याकमा रु। ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसवापत यसरी प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar