अस्वस्थकर मासु बेच्ने व्यवसायी कारबाहीमा

अस्वस्थकर मासु बेच्ने व्यवसायी कारबाहीमा

रूपन्देही । बुटवलको मुख्य बजारमा अस्वस्थकर मासु बेचेर उपभोक्तामाथि खेलवाड गर्ने व्यवसायी कारबाहीमा परेका छन् । बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा कतिपय मासु पसल मापदण्ड विपरीत र त्यहाँ अस्वस्थकर माछामासु विक्रीका लागि राखेको भेटिएपछि उनीहरू कारबाहीमा परेका हुन्।

अस्वस्थकर र सडेको अवस्थामा राखिएका त्यस्ता माछामासुजन्य पदार्थलाई अनुगमन समितिले नियन्त्रणमा लिएर रोहबरमा नष्ट गरिएको अनुगमन समिति संयोजक तथा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार विभिन्न मासु पसलको अनुगमन गरेको थियो ।

सोही अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछा मासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको र त्यसलाई नष्ट गरिएको अनुगमन समिति संयोजक तथा उपप्रमुख आचार्यले बताइन् । उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख पशु चिकित्सक झविन्द्र बञ्जाडेले विभिन्न ६ वटा पसलबाट करिब ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछा मासु नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए । उनले ती पसललाई सुधार गर्न र उपभोक्तामैत्री बनाउन निर्देशन दिइएको पनि बताए ।

प्रकाशित मिति:     १४ श्रावण २०७८, बिहीबार  |    Himali Khabar