सन् २०२१ मा आइफोन उत्पादन २० प्रतिशतले बढाउने

सन् २०२१ मा आइफोन उत्पादन २० प्रतिशतले बढाउने

काठमाडौं। एप्पलले सन् २०२१ मा नौ करोड आइफोन ह्यान्डसेट उत्पादन गर्न आपूर्तिकर्तालाई आग्रह गरेको छ। सन् २०२१ मा आइफोन १३ को उत्पादन २० प्रतिशतले बढाउन सबै सप्लायर्सहरुलाई अनुरोध गरेको छ।

अमेरिकन टेक जाइन्ट एप्पलले सन् २०२१ मा कोभिड-१९ विरुद्धको भ्याक्सिन पछि आइफोनको माग अझ बढ्ने अपेक्षा गरेको छ। आगामी आइफोन एप्पलको दोस्रो फाइभजी स्मार्टफोन हुनेछ। जसका कारण पुराना प्रयोगकर्ताहरुलाई अपग्रेड गर्न उत्साहित गर्ने दाबी कम्पनीको छ।

एप्पलले गत वर्ष सार्वजनिक गरेको आइफोन १२ भन्दा यो वर्ष थप नयाँ अपडेटहरु ल्याउने अपेक्षा गरिएको छ। आगामी फोनमा थप सुदृढ प्रोसेसर, क्यामेरा र डिस्प्लेमा रहने बताइएको छ।

एप्पलले आफ्ना वर्तमान सबै मोडलहरु अपडेट गर्ने जनाएको छ। अहिले एप्पलले ५.४ इन्च र ६.१ इन्चको रेगुलर भर्सन साथै ६.१ इन्च र ६.७ इन्चको प्रो मोडल उत्पादन गरिरहेको छ।

आगामी सेप्टेम्बरमा सार्वजनिक हुने नयाँ फोनलाई एप्पलले डी१६, डी१७, डी६३ र डी६४ कोडनेम दिएको छ। नयाँ भर्सनका यी फोनमध्ये एउटामा लो टेम्परेचर पोलिक्रिस्टलिन अक्साइड (एलटीपीओ) डिस्प्ले जडान हुने बताइएको छ।

प्रकाशित मिति:     ३१ असार २०७८, बिहीबार  |    Himali Khabar