पारिश्रमिक नपाएपछि मजदुरले नेपाल टेलिकमको टावर बन्द गरे, यी तीन जिल्लामा फोन सेवा अवरुद्ध

पारिश्रमिक नपाएपछि मजदुरले नेपाल टेलिकमको टावर बन्द गरे, यी तीन जिल्लामा फोन सेवा अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन्। डोल्पा, रुकुम पश्चिमको गोतामकोटको टावरलाई लिङ्क दिनका लागि यो टावर निर्माण गरिएको थियो।

टावर निर्माण गरेको लामो समयसम्म मजदुरलाई ठेकेदारले उपलब्ध नगराएपछि टावर बन्द गर्नुपरेको मजदुर हीरालाल बटालाले बताए। हप्ता दिनदेखि टावर बन्द गरिँदा जाजरकोटको नलगाड नगरपालिका, रुकुम पश्चिमको आठबीसकोट र डोल्पाको मुड्केचुलामा रहेका टावर बन्द भएका छन्।

मजदुरले रकम नपाएसम्म टावर नखोल्ने अडान लिएका कारण समस्या भएको नेपाल टेलिकम जाजरकोटले बताएको छ। झण्डै दुई लाख ठेकेदारले मजदुरलाई दिन बाँकी रहेको पीडितले बताएका छन्। करिब दुई वर्ष लगाएर निर्माण गरिएको टावर सञ्चालनमा आएको तीन महिना नबित्दै मजदुर आन्दोलित भएका थिए।

प्रकाशित मिति:     २४ असार २०७८, बिहीबार  |    Himali Khabar