अनुमतिविना अवतरण र होभरिंग नगराउन हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन

अनुमतिविना अवतरण र होभरिंग नगराउन हेलिकोप्टर कम्पनीलाई सगरमाथा राष्ट्रिय निकुञ्जको निर्देशन

काठमाडौं, ७ फागुन । सगरमाथा राष्ट्रिय निकुञ्न्जले अनुमतिविना अवतरण र होभरिंग नगराउनका लागि हेलिकोप्टर कम्पनीलाई निर्देशन दिएको छ। गत पुसमा सिम्रीक एयरको हेलिकोप्टरले कालापत्थरमा यात्रुसहित अनुमतिविना अवतरण गरेको उजुरी आएपछि राष्ट्रिय निकुञ्जले यो निर्देशन दिएको हो।

सिम्रिक एयरको हेलिकप्टरले निकुञ्जभित्र पर्ने कालापत्थर क्षेत्रमा विना अनुमति अवतरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लिखित सहमति र लिखित अनुमतिबिना छायांकन गरेकोमा आवश्यक कारवाही अघि बढाइएको जनाएको छ। निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र बिना अनुमति हेलिकप्टर अवतरण तथा छायांकन गर्ने लगायत गैरकानुनी क्रियाकलाप प्रति यस गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र यस्ता क्रियाकलापलाई नियन्त्रण गर्नका साथै हेलिकप्टर अवतरण तथा होभरिंग कार्यको व्यवस्थापन गर्न अनिवार्य निकुञ्जको पूर्व स्वीकृति लिन निर्देशन दिएको छ। निकुञ्ज कार्यालयका अनुसार उद्दार सामाग्री दुवानी तथा विशेष परिस्थिति बाहेकको काममा लुक्ला तथा स्यांगबोचे स्थित विमानस्थल र नाम्चे स्थित हेलीप्याड लगायत तोकिएका तीन स्थानमा स्वीकृति बमोजिम अवतरण स्विकृति दिइने छ।

यसको कार्यान्वयनका लागि स्थानी प्रहरी प्रशासन, गाउँपालिका, होटेल तथा लाज व्यवसायी, नागरिक उड्डयन प्राधिकरण, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना लगायत निकायलाई निर्देशन दिइएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका अनुसार यो क्षेत्रमा विना स्विकृति होभारिंग, राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र माउन्टेन फ्लाइट लगायतका अन्य कानुन निषेधित क्रियाकलापहरु गरेको पाइएमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारवाही हुनेछ।

बिहीबार निकुञ्जले सिम्रीक, मनाङ, एइर डाइनेष्टी, हेलि एभरेष्ट, अल्टिच्युड, प्रभु, फिसटेल, श्री लगायत हेलिकोप्टर कम्पनीलाई यो निर्देशन पत्र जारी गरेको हो।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar