काठमाडौंका विभिन्न स्थानका सहकारीमा श्रृङ्खलावद्ध चोरीको अभियोगमा नुवाकोटका एक पक्राउ

काठमाडौंका विभिन्न स्थानका सहकारीमा श्रृङ्खलावद्ध चोरीको अभियोगमा नुवाकोटका एक पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्नस्थानमा श्रृङ्खलावद्ध रुपमा सहकारी चोरीको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले नुवाकोट वेलकोटगढी नगरपालिका–९ का २२ वर्षीय दीपक गजुरेललाई पक्राउ गरेको छ । महानागरीय प्रहरी परिसरको विशेष टोलीले उनलाई हिजो पक्राउ गरेको हो ।

सहकारी चोरी तथा लागूऔषध मुद्धामा पाँचवर्ष जेल सजाय कटाएर गत मङ्सिर केन्द्रीय कारागार सुन्धाराबाट रिहाइ भएका अभियुक्त गजुरेलले २०७७ साल माघ १५ गतेदेखि २०७८ साल जेठ १३ गतेसम्म सातवटा सहकारी चोरी गरेको दावी प्रहरीको छ । २०७७ सालको माघ १५ गते राति बानेश्वरस्थित वेविलोन उपभोक्त, २१ गते शंखमुलस्थित घरसंसार, फागुन १३ गते गौशालाको पन्चश्री, १४ गते कोटेश्वरको स्वामी, चैत ४ गते सन्दुक, २०७८ साल वैशाख १३ गते मैतीदेवीस्थित जेष्ठ आइडोलोजी र गौथली वचत तथा ऋण सहकारी चोरी भएको हो । विभिन्न सहकारीबाट करीव ४३ लाख ९७ हजार नगद, नौ तोला सुन, मोवाइल र ल्यापटप चोरी भएका छन् । प्रवक्ता बस्नेतका अनुसार, यी सातवटा सहकारी चोरी घटनामा उनको संलग्नता रहेको छ ।

राजधानीको अनामनगरस्थित ‘स्पेस एक्स स्टुडियोका सञ्चालक समेत रहेका अभियुक्त दिपकले सहकारी चोरीकै पैसाले भब्य स्टुडियो निर्माण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जोरपाटी कोठा भए पनि सहकारी चोरी गरेको रात सुत्न भने होटलमा बस्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् । अभियुक्तको साथबाट सिसा काट्ने मेसिन, शेफहरुको मास्टर चावी, सहकारीले सुन तथा नगद राखेको थैली (कपडा) र विभिन्न बैंकको खाताहरु बरामद गरिएको छ।

उनी यसअघि पाँच वर्ष लागूऔषध कारोबारी र चोरीमा जेल सजाय भुक्तान गरेका व्यक्ति हुन ।

प्रकाशित मिति:     १४ असार २०७८, सोमबार  |    Himali Khabar