काठमाडौं । देशकै ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी आयोजनाबाट छिट्टै विद्युत् उत्पादन हुने सम्भावना न्यून देखिएको छ । अविरल वर्षापछिको बाढीपहिरोका कारण क्षति पुगेपछि यही असोज ११ गतेदेखि त्यहाँबाट उत्पादन बन्द छ ।
आयोजनाको प्रारम्भिक अध्ययनानुसार करिब दुई अर्ब रुपैयाँबराबरको क्षति पुगेको माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले जानकारी दिए । माथिल्लो तामाकोसी आयोजनामा क्षति पुगेसँगै आउँदो हिउँदयाममा लोडसेडिङ हुने त होइन भन्ने चिन्ता छ । सुक्खायामका निम्ति नेपाल विद्युत् प्राधिकरणको ‘ब्याकअप’का रूपमा रहेको यो आयोजनामा क्षति पुगेपछि हिउँदमा कसरी प्रणाली सन्तुलनमा ल्याउने भन्ने चिन्ता थपिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रत्येक वर्ष सुक्खायाम लम्बिँदै गएको अवस्थामा तामाकोसी आयोजना सञ्चालन हुन नसक्दा हिउँदमा प्राधिकरणले कसरी बिजुली सन्तुलन मिलाउने भन्ने चिन्ता थपिएको बताउँछन् । प्राधिकरणले यसअघि हिउँदमा दिउँसो पानी जम्मा गर्ने र उच्च माग हुने समयमा सञ्चालन गरी माग पूर्ति गर्दै आएको थियो । माथिल्लो तामाकोसी चारदेखि ६ घण्टालाई पुग्ने ‘पिकिङ’ जलाशय आयोजना समेत हो ।