काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को भदौ १७ मा हुने निर्वाचनमा महासचिव पदका उम्मेदरवार सोनाम ग्याल्जेन शेर्पाले राजनीतिबाट अलग गराई ट्रेकिङ व्यवसायीहरुको हितमा काम गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव पदका उम्मेदवार शेर्पाले यस्तो बताएका हुन् ।
उनी सागर पाण्डे समुहबाट महासचिव पदको उम्मेदवार बनेका हुन । टानले मुलुकभरका पुराना पदमार्गको संरक्षण र नयाँ विकल्प खोज्न छोडेर राजनीतिक पार्टीको नेता जन्माउने थलोको रुपमा अहिलेसम्म प्रयोग भएको उनले बताए ।
उनले पुराना पदमार्गहरु हराउँदै गएको भन्दै महासचिव पदमा जिताए अन्नपूर्ण राउण्ड,अन्नपूर्ण बेसक्याम र सगरमाथा जाने लोकप्रिय जिरी सगरमाथा पदमार्ग संरक्षण गर्ने बताए । लुक्ला जानुपर्ने पर्यटकलाई सहज बनाउनको लागि सिजनको समयमा पर्यटन व्यवसायीहरुको सहकार्यमा सटलबस सञ्चालन गर्ने योजना रहेको बताए । उनले उच्च गुणस्तरका पर्यटकहरु आउन थालेको भन्दै गुणस्तरीय पयर्टक भित्र्याउने योजना टानले बनाउने बताए ।
यस अघि एक कार्यकाल टानको कार्यसमिति सदस्यमा रहेर काम गरिसकेका छन । विगत दुई दशकदेखि पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनि शेर्पा पर्यटन व्यवसायी संघ नेपालका निवर्तमान अध्यक्ष र शेर्पा आदिवासी जनजाति पर्यटन महासंघको वर्तमान अध्यक्ष हुनु ।