टान निर्वाचन : अध्यक्षमा सापकोटा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने निश्चित

टान निर्वाचन : अध्यक्षमा सापकोटा र पाण्डेबीच नै प्रतिस्पर्धा हुने निश्चित

काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को बार्षिक साधारणसभा एवम निर्वाचन भदौ १७ गतेका लागि घोषणा गरिएसँगै टान निर्वाचनलाई लिएर यतीबेला पर्यटन बजार तातेको छ।

बिहान सबेरैदेखि साँझ अबेरसम्म ठमेलमा पर्यटन व्यवसायीहरुबीच टानको अध्यक्षसहित अन्य पदमा कसलाई सघाउने भन्नेमा आपसी भेटघाट बढेको छ । उक्त साधारणसभाले टानको आगामी २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।

अहिलेसम्म अध्यक्षमा आधा दर्जन आकांक्षी देखिएका छन् । वरिष्ठ पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटा र सागर पाण्डेसहित डा.रामशरण थपलिया, केशव पाण्डे, प्रदिप पण्डित, रामप्रसाद सापकोटासम्मले अध्यक्षमा आकांक्षा देखाएका छन् ।

तर अहिलेसम्म आधिकारीरुपमा नेकपा एमाले निकट व्यवसायीहरुले राजेन्द्रप्रसाद सापकोटा र माओवादी केन्द्र निकट व्यवसायीहरुले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरिसकेका छन् । कांग्रेसबाट थपलिया र पाण्डेले आकांक्षा देखाएपनि अहिलेसम्म आधिकारिकरुपमा उम्मेदवार टुंगो लगाइसकेको भने छैन ।

‘नयाँ सत्तासमीकरण अनुसार टान निर्वाचनमा पनि काँग्रेस र एमालेबीच नै गठबन्ध हुने सम्भावना छ । त्यसैकारण उसले अहिलेसम्म उम्मेदवार घोषणा नगरेको बुझिन्छ । त्यो हुँदा उपाध्यक्ष र महासचिवसहित अन्य केही पद लिएर कांग्रेसले एमालेका उम्मेदवार सापकोटालाई सघाउने लगभग निश्चित जस्तै छ’ । एक कांग्रेस निकट व्यवसायीले हिमाली खबरसँगको कुराकानीमा भने ।

यी दुई ठुला दल मिलेर निर्वाचनमा होमिए माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहित रास्वपामा आस्था राख्ने दलहरुलाई मिलाएर निर्वाचनमा होमिने सम्भवना छ ।

उसो त दुईवर्षअघि भएको निर्वाचनमा कांग्रेस र एमालेबीच नै गठबन्धन भएको थियो । कांग्रेसले अध्यक्ष र एमाले महासचिवसहित अन्य केही महत्वपूर्ण पद लिएर निर्वाचनमा होमिएको थियो । जसकारण पनि कांग्रेस निकट निलहरी बाँस्तोलाले माओवादी केन्द्र निकट व्यवसायीहरुका तर्फबाट उम्मेदवार बनेका कमल सापकोटालाई अध्यक्षमा पराजित गर्न सफल भएका थिए ।

त्यसर्थ अहिलेसम्मको छलफल अनुसार उम्मेदवारीदर्तासम्म पुग्दा एमाले निकट सापकोटा र माओवादी केन्द्र निकट पाण्डे प्यानल सहित चुनावी मैदान होमिने निश्चत जस्तै छ ।

प्रकाशित मिति:     १७ श्रावण २०८१, बिहीबार  |    Himali Khabar