काठमाडौं । कीर्तिमानी हिमाली आरोही निर्मल पुर्जा (निम्स) विरुद्ध विभिन्न महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। शुक्रबार प्रकाशित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा ती महिलाले पुर्जाले आफ्नो असहमति हुँदाहुँदै चुम्बन गर्नेदेखि गोप्य अंग छुनेसम्म गरेको दाबी गरेका छन्।
द न्युयोर्क टाइम्सका अनुसार पूर्वमिस फिनल्यान्ड लोता हिन्स्टाले २०२३ मार्च ३० मा काठमाडौँ आएका बेला पुर्जाले एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्।
यसअघि डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले पुर्जाको नाम नलिई एक जना चर्चित आरोहीले आफ्नो सहमतिबिना चुम्बन गरेको उल्लेख गरेकी थिइन्।
शुक्रबार प्रकाशित न्युयोर्क टाइम्समा भने उनले ती व्यक्ति पुर्जा नै भएको बताएकी हुन्। पुर्जाले कफी पिउने बहानामा आफ्नो कोठासम्म लिएर गएको र यौन दुर्व्यवहार गरेको उनको आरोप छ।