रूपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामाको रणनीतिक सक्रियता बढेको द्छ । विहत्तर लुम्बिनी अवधारणा अन्तरगत रामग्रामलाई विश्व शान्तिको केन्द्र बनाउनेगरी कार्यक्रम गरेको चार दिन भित्रै फेरि चिनियाँ उच्च अधिकारीसँग सिधा हवाइ उडानबारे छलफल गरेका छन् । चिनियाँ उपमन्त्री वाङ रुइजुनसहितको टोलीसँग शुक्रबार भएको छलफलमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ पर्यटक भित्राउन चीनको गोन्जाउबाट दैनिक एउटा हवाई उडान सञ्चालनका लागि लामाले आग्रह गरे ।
उपमन्त्री वाङ रुइजुनसहितको प्रतिनिधि मण्डलसँगको भेटमा लामाले चिनियाँ बुद्धमार्गी र अन्य पर्यटकको आकर्षणको केन्द्र लुम्बिनी केन्द्रीत भ्रमणका लागि सिधा उडानको आग्रह गरेका हुन् । टोलीमा ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेईसहित छन् ।
टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन लगायतको विषयमा उपाध्यक्ष डा. लामाले छलफल गर्दै लुम्बिनी क्षेत्रबारे जानकारी गराएका हुन् ।

भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा पनि छलफल भएको थियो । उपाध्यक्ष डा. लामाले नेपालले चीनसँग धार्मिक सांस्कृतिक एव सामाजिक साझेदारीसहितको मित्रवत सम्बन्ध राख्न चाहेको बताए ।
लुम्बिनी बुद्धको पवित्र जन्मस्थल भएको भन्दै यो बौद्धमार्गीहरुको साझा सम्पत्ति भएकाले लुम्बिनीको समग्र विकासको निम्ति सहयोगको आग्रह गर्दै विश्व शान्तिका लागि लुम्बिनी प्रतिक भएको लामाले बताए ।
भेटमा लुम्बिनी विकास कोषको तर्फबाट कोषाका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका कार्यकारी सदस्य श्याम रोक्का, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायतको टोली सहभागी रहेका थिए ।