शिक्षकले पार्टीको सदस्यता लिए सेवाबाट हटाइने

शिक्षकले पार्टीको सदस्यता लिए सेवाबाट हटाइने

काठमाडौं । शिक्षकले कुनै राजनीतिक दलको सदस्यता लिएमा सेवाबाट हटाइने कानुनी व्यवस्था भएको विधेयक संसदमा दर्ता भएको छ । सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा शिक्षकले दलको सदस्यता लिन नहुने र लिएमा सेवाबाट हटाउने प्रावधान राखिएको छ । यस्तै लगातार १५ दिनभन्दा बढी विद्यालयमा अनुपस्थित हुने, राजनीतिक गतिविधिमा भाग लिने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने लगायतका काम गरेमा उनीहरूलाई सेवाबाट हटाउने प्रावधान राखिएको छ ।

यी काम गरेमा शिक्षकलाई सेवाबाट हटाइने

–कुनै शिक्षकले अध्यापन गर्ने जिम्मेवारी पूरा गर्न नसकेमा

–परीक्षामा प्रश्न पत्रको गोपनीयता भङ्ग गर्ने, परीक्षा सञ्चालनमा अमर्यादित काम गर्ने वा गराउने

–उत्तर पुस्तिका परीक्षणमा लापरबाही गर्ने तथा नतिजा प्रकाशनमा अमर्यादित कार्य गरेमा

–राजनीतिक दल वा दलसँग आबद्ध सङ्गठनको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिएमा

–विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा

–बिदा स्वीकृत नगराई लगातार नब्बे दिनसम्म कार्यरत विद्यालयमा अनुपस्थित रहेमा

प्रकाशित मिति:     २७ भाद्र २०८०, बुधबार  |    Himali Khabar