बैशाखमा मात्रै कोभिड-१९बाट १६०८ जनाको मृत्यु

बैशाखमा मात्रै कोभिड-१९बाट १६०८ जनाको मृत्यु

काठमाडौं । बैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । बैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो ।

सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।

बैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यस्तै वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । बैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ ।

वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:     १ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar