बजेट शून्य बनाइएको भन्दै पशुपंक्षी क्षेत्रका निकाय आन्दोलनमा

बजेट शून्य बनाइएको भन्दै पशुपंक्षी क्षेत्रका निकाय आन्दोलनमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र०८१० को बजेटमा पशुपंक्षी क्षेत्रका निकायलाई बजेट शून्य बनाएको भन्दै सरोकारवालाले आन्दोलनमा उत्रिएका छन्। पशुपंक्षीसँग सम्बन्धित विभिन्न निकायहरू, पशु क्वारेन्टिन कार्यालयहरू, पशु रोग अन्वेषण प्रयोगशालाहरू, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, भेटेरेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला लगायतका २० कार्यालयमा बजेट शून्य भएकोप्रति आपत्ति जनाउँदै आइतबारदेखि आन्दोलन घोषणा गरेका छन्।

चालु आर्थिक वर्ष पहिलो महिना बितिसक्दासमेत बजेट शून्य हुँदा पशु रोग नियन्त्रण, पशु आनुवांशिक स्रोत तथा मत्स्य प्रजातिको संरक्षण, खोप उत्पादन, पशु रोगको सर्भिलेन्स तथा रोग निदानका कार्यहरू बन्द हुँदासमेत सरकार जिम्मेवारबाट पन्छिएको भेटेरिनरी एसोसिएसनका अध्यक्ष रामकृष्ण खतिवडाले बताए।

‘पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग एकाई कार्यालय, पशु आनुवांशिक स्रोत केन्द्रहरू, राष्ट्रिय दुग्ध विकास बोर्ड, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रहरूलगायतका २० कार्यालयको बजेट शून्य छ। बजेट शून्य हुँदा पशु रोग नियन्त्रण, पशु आनुवांशिक स्रोत तथा मत्स्य प्रजातिको संरक्षण, खोप उत्पादन, पशु रोगको सर्भिलेन्स तथा रोग निदानका कार्यहरू बन्द भएका छन्।

‘सरोकारवाला निकायहरूसँग छलफल नै नगरी नियोजित रूपमा गरिएको षड्यन्त्रपूर्ण निर्णय गरेको हुँदा आन्दोलनबाट निस्कने परिणामको जिम्मा सरकारले निकाल्नुपर्छ,’ उनले भने। सरकारले आवश्यक सेवाको रूपमा सूचीकृत गरेको भेटेरेनरी सेवा, क्वारेन्टिन तथा नियमन सेवा बन्द हुने अवस्थामा पुग्दा समग्र कृषक र पशुपन्छीसँग सम्बन्धित व्यवसायी तथा उद्योगीहरूले पाउने सेवासमेत प्रभावित हुन पुगेको छ।

प्रकाशित मिति:     ३ भाद्र २०८०, आईतवार  |    Himali Khabar