कान्तिका लेखा अधिकृत राईलाई कारवाहीको माग गर्दै उजुरी

कान्तिका लेखा अधिकृत राईलाई कारवाहीको माग गर्दै उजुरी

काठमाडौं । कान्ति बाल अस्पतालका लेखा अधिकृत वीर सिंह राई विरुद्ध एक जना चिकित्सकले आफूलाई गुण्डागर्दी शैलीमा झम्टिएको भन्दै कारवाहीको माग गर्नुभएको छ । मंगलबार अस्पतालमा कार्यरत डेन्टल सर्जन डा. राकेश घिसिङले सेवाग्राहीका रुपमा आफू लेखा शाखामा पुग्दा आफूमाथि अमर्यादित रुपमा झम्टिएको भन्दै कारवाहीका लागि अस्पताल विकास समिति र निर्देशकलाई गुहार्नु भएको हो ।

डा. राकेशले टि.ए./डि.ए.का बारेमा आफू सेवाग्राहीका रुपमा लेखा शाखामा सोधपुछ गर्न जाँदा लेखा अधिकृत राईले अभद्र, अनुशासनहीन तरिकाले तथानाम शब्दहरु प्रयोग गरेको र झम्टिएको आरोप लगानुभएको छ । ‘मलाई अभद्र, अनुशासनहीन तरिकाले दुर्व्यवहार गरी गाली गलौज गरी ‘तँ’जस्तो तुच्छ शब्द प्रयोग गरी ‘बाहिर निस्की’ भनी गुण्डागर्दी शैलीमा झम्टिएकोले गर्दा उहाँलाई निजामती सेवा ऐन, २०४९ कडाभन्दा कडा कारवाही गरी पाउँ भनी यो निवेदन पेश गरेको छु,’ डा. राकेशले अस्पतालका निर्देशक तथा अस्पताल व्यवस्थापन समितिलाई लेखेको पत्रमा उल्लेख छ । उहाँले यसरी भ्रष्ट प्रवृति देखाई आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छने कुशासन प्रवृति र भ्रष्ट कर्मचारीतन्त्रले अस्पताल तथा सिंगो राष्ट्रलाई घात हुने भन्दैं पूर्ण संवेदनशील भएर कारवाही अगाडि बढाउन माग गर्नुभएको हो ।

डा. राकेशले लेखा अधिकृत राईले यसअघि पनि अनादर र अनुशासनहीन तरिकाले कामबाट पन्छिएको उल्लेख गर्नुभएको छ । कान्तिका निर्देशक डा. युवानिधी बसौलाले आफू कहाँ कारवाहीको माग गर्दै उजुरी दर्ता भएको पुष्टि गर्नुभयो ।

प्रकाशित मिति:     २५ फाल्गुन २०७९, बिहीबार  |    Himali Khabar