भारतबाट हुने अवैध दूधको आयात रोक्न माग

भारतबाट हुने अवैध दूधको आयात रोक्न माग

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादव, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल, महासचिव हेमचन्द्र खनाल, रितिका डेरीका योगेन्द्र चिमोरिया, एसोसिएसन इलाम जिल्ला अध्यक्ष लक्ष्मी थापाको टिमले झापा सिडियो कार्यालयमा सहायक सिडियो रुद्र प्रसाद न्यौपानेलाई भेटी भारतबाट भित्रिने अवैध दूध नियन्त्रण गर्न आग्रह गरेका छन्।

भारतीय सीमाबाट अवैध रुपमा दूध तथा दूग्धजन्य पदार्थ आयात हुँदा नेपाली दुग्ध उत्पादक कृषकहरू समस्यामा छन् । जसका कारण नेपाली किसानहरूले उत्पादन गरेको दूधको खपत घटेको छ ।

दूधको खपत घटेसँगै किसानले उत्पादन गरेको दूधले बजार नपाउँदा दूध खेर गइरहेको छ । किसानको दूध खेर जाँदा उनीहरूको आयमा समेत असर परेको छ ।

यतिमात्रै होइन, अहिले लम्पी स्किन रोगका कारण भारत पनि प्रभावित छ । यस्तो बेला झन् सीमानाकाबाट अवैध रूपमा दूध भित्रिँदा थप जोखिम समेत बढेको छ ।

यस्तो अवस्थामा अवैध रूपमा भित्रिने दूध तथा दुग्ध पदार्थ नियन्त्रण गरी नेपालमा उत्पादित दूधलाई संरक्षण गर्दै किसानलाई राहत दिलाउन पहल थालिएको छ ।

महासचिव खनालका अनुसार यो अभियान भारतसँग सीमा जोडिएका देशैभरका जिल्लामा हुनेछ । अब यति गर्दा पनि सरकारले एक्सन लिएन भने किसानलाई साथमा लिई आफैं फिल्डमा निक्लने अध्यक्ष दाहालले बताए ।

प्रकाशित मिति:     २३ श्रावण २०८०, मंगलवार  |    Himali Khabar