देशमा जे भइरहेको छ त्यो पटक्कै ठिक छैन, अब अवस्था बदल्नकालागि हातेमालो गरौं: सुमन पाण्डे

देशमा जे भइरहेको छ त्यो पटक्कै ठिक छैन, अब अवस्था बदल्नकालागि हातेमालो गरौं: सुमन पाण्डे

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी सुमन पाण्डेले प्रतिनिधिसभा सदस्यका लागि नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन् । उनले स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका हुन् ।
नुवाकोटमा क्षेत्र नं. २ मा हरेक पटक एमाले र काँग्रेसबीच रोचक भिडन्त हुने गरेकोमा यस पटक सुमन पाण्डेको उम्मेदवारीले त्यस क्षेत्रको निर्वाचन झनै रोचक हुने देखिएको छ । लामो समयदेखि झुटा आश्वासन र अपुरा/अधुर घोषणा–पत्र बोकेर गाउँ घुम्ने गरेका दल र दलका प्रतिस्पर्धीहरूका लागि पाण्डेको उम्मेदवारी भारी बन्दै गएको छ।

नुवाकोट २ का जनतासँगको नियमित भेटघाट र उनीहरूको चाहना बुझ्दा, सुन्दा हरेक नागरिक पुराना दल र दलका प्रतिनिधिबाट असन्तुष्ट पाइएको पाण्डे बताउँछन् । व्यावसायिक यात्राबाट राजनीतिको यात्रा तय गरेका पाण्डेले अब देशको अवस्था बदल्नकै लागि भएपनि चुनावी मैदानमा हुमिएका बताएका छन् ।

‘३३ वर्षसम्म पर्यटन व्यावसायी हुँदै गर्दा धेरै दल र दलका प्रतिनिधिसँग काम गरियो। यसबीचमा कुनै पनि दलसँग आवद्धता राखिँन । देशमा धेरै पटक राजनीतिक परिवर्तनका लागि ठुला–ठुला संघर्ष भए तर, जनताले अनुभूत गर्नसक्ने गरिको अवस्थाका लागि भने न कुनै दलले प्रयास गर्‌यो न त कुनै प्रतिनिधिले नै’, उम्मेदवार पाण्डे भन्छन्,‘देशमा जे भइरहेको छ त्यो पटक्कै ठिक छैन । अवस्था बन्नेभन्दा विग्रनेतर्फ गइरहेको छ । भ्रष्टाचार ब्याप्त छ र कुसाशनले गर्दा पछाडी धकेलिइरहेका छौं।’

उनी देशमा बेरोजगारी र युवाहरूको पीणा सम्झँदै भन्छन्, ‘आज देशमा हरेक दिन २ हजार युवाहरू विदेशिनु परेको छ भने ६ वटा देखि १० वटा बाकसमा तिनै युवाहरूको लास नेपाल फर्किरहेको छ’, पाण्डे थप्छन्, ‘आज बैंकहरूमा तरलता अभाव छ, विदेश मुद्रको हाहाकार छ। यसले हाम्रो दिनप्रतिदिन ब्यापार घाटा बढ्दो छ। अर्कातर्फ मुलुकमा राम्राभन्दा हाम्रा मान्छे लाई अवसर दिने गलत परिपाटीले हाम्रा संस्थागत संरचना ध्वस्त भएका छन्। . यसको असर प्रत्येक व्यक्तिको घर–घरमा र भान्छा–भान्छासम्म पुगेको छ। त्यसैले अब हामी आफैँले हाम्रो मुलुकको अवस्था बदल्नु पर्छ भनेर जनतामाझ आएको छु।’

उम्मेदवार पाण्डेले आफू झुटा आश्वासन र ठुला–ठुला सपना नभइ जनताले महसुस गर्नसक्ने योजना र प्रतिवद्धता लिएर घर दैलोमा जानेगरको बताउँदै अब साँच्चै अवस्था बदल्नका लागि सबैले हातेमालो गरेर आफूलाई निर्वाचित गराउन अपिलसमेत गरेका छन् । आफ्नो व्यवासायिक सफलतासँगै अब नुवाकोट क्षेत्र नं. २ र सिँगो नुवाकोट जिल्लाकै विकास र समृद्धी लागि पनि आफू प्रतिवद्ध रहेकोले उनी सम्पूर्ण मतदातामाझ प्रस्तुत भइरहेका छन् ।

प्रकाशित मिति:     ३ कार्तिक २०७९, बिहीबार  |    Himali Khabar