व्यवसायी रायमाझीको हत्या गर्न भारतीय सुटरलाई सुपारी दिने बाग्मती नगरपालिकाका लेखापाल पोख्रेल फरार

व्यवसायी रायमाझीको हत्या गर्न भारतीय सुटरलाई सुपारी दिने बाग्मती नगरपालिकाका लेखापाल पोख्रेल फरार

हरिवन । सर्लाहीका व्यवसायी अर्जुन रायमाझीलाई गोली हान्न सुपारी दिएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि बाग्मती नगरपालिकाका लेखापाल फरार भएका छन् । बगमती नगरपालिकामा कार्यरत लेखापाल ५० वर्षीय विश्वराज पोखरेलको योजनामा भारतीय सुटरहरूलाई गोली हान्न सुपारी दिएको दाबी गरेर रायमाझीले प्रहरीमा जाहेरी दिएपछि फत्रउ पुर्जी जारी भएको छ । तर, पोखरेल अझै पक्राउ परेका छैनन् ।

हरिवन नगरपालिका–११ घर भएका रायमाझीलाई सो बजारको कडरिया चोकमा भारतबाट आएका ३ जना सुटरले गोली हान्ने प्रयास गरेपनि रायमाझी आफु भाग्यले बाँच्न सफल भएको बताउँछन् । ‘टार्गेट मिस’ भएपछि सुटरसँगै आएका एकजना युवाले हत्या योजनबारे खुलासा गरेपछि पोख्रेल मुख्य योजनाकार रहेको खुलेको छ । २०७८ असोज २४ मा भारतीय सुटरहरू प्रकाश सिंह, बिटु सिंह, र अरुण कुमार सिंह हरिवन नगरपालिका–११ मा रहेको हरि बहादुर बस्नेतको होटलमा बसेको र रायमाझीको निगरानी गरेपछि असोज २५ मा बिहान ५ देखी साढे ७ बजेसम्ममा गोली हान्ने प्रयास गरेको सिसिटिभी फुटेजमा कैद दृश्यले पनि देखिन्छ ।

हरिवन नगरपालिका–९ घर भएका विश्वराज पोखरेलको आग्रहमा बलरा नगरपालिकामा वडा नम्बर–१ घर भई नरहरगञ्ज प्राविका शिक्षक ५० वर्षीय सुरेन्द्र सिंहले भारतबाट सुटर मगाएको रायमाझीको दाबी छ । हत्या योजनामा रायमाझीले विश्वराज सहित ८ जनालाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराएका छन् । पुस २२ मा जिल्ला अदालत सर्लाहीले योजनाकार विश्वराज पोखरेल र सुटर मगाउने बलरा नगरपालिका स्थित सुदामा बस्ने सुरेन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । ज्यान मार्ने उद्देश्यले आपराधिक षडयन्त्र गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

आरोपीहरू खुलेआम घुमिरहेपनि सर्लाही प्रहरीले उनीहरूलाई पक्राउ गर्न आनाकानी गरेको पीडितको गुनासो छ । सुटरसँगै आएका एकजना युवाको भिडियो बयान अनुसार पोखरेलले २५ लाखमा व्यवसायी रायमाझीको हत्या गर्न सुपारी दिएका थिए । सो मध्ये १५ लाख नेपाली रुपैयाँ र दुईओटा पल्सर मोटरसाइकल अग्रिम दिइसकेको ती युवाले भिडियो बयानमा बताएका छन् । आरोपीहरूलाई पक्राउ गर्न अनुमति आएको तर, उनीहरू आफ्नो एरियामा नभएको हुनाले पक्राउ गर्न नसकिएको सर्लाहीका एसपी कृष्ण प्रसाईले बताए ।

प्रकाशित मिति:     १५ माघ २०७८, शनिबार  |    Himali Khabar