म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

काठमाडौं । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०÷१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट वियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताए । त्यस्तै सप्तकोशी–१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको वियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ ।

प्रकाशित मिति:     १५ आश्विन २०७८, शुक्रबार  |    Himali Khabar