भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस

काठमाडौं । इडिभी २०२१ मा नाम निकाली अमेरिका जानका लागि भिसा प्रक्रियामा सहभागी केही व्यक्तिले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने गरेको पाइएको छ । डिभी परेर अमेरिका जान लाग्दा उनीहरूको शैक्षिक प्रमाणपत्रमाथि शङ्का लागेर अनुसन्धान गर्दा यसरी नक्कली शैक्षिक प्रमाणपत्र फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले यस्ता गतिविधिमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलङ्की बस्ने चितवनको जुगेडीका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनीका ३१ वर्षीय नवीन दराई र काठमाडौँ कोटेश्वर बस्ने रौतहट चन्द्रपुरका ३२ वर्षीय शिव रोक्का रहेका छन् । उनीहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । नेपालस्थित अमेरिकी दूतावासमा इडिभी २०२१ को नतिजामा नाम निकाली भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता बुझाउने क्रममा केही व्यक्तिले प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको भनेर अमेरिकी दूतावासबाट प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar