स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित ३ जना पक्राउ

स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित ३ जना पक्राउ

काठमाडौं। खिचापोखरीबाट प्रहरीले ३१ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको थियो। त्यति धेरै नगदको स्रोत उनले खुलाउन सकेनन्। अनुसन्धानका क्रममा प्रहरीले अरू दुई जनालाई पक्राउ गर्नुका साथै थप नगद ५४ लाख ५६ हजार बरामद गरेको छ।

स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँसहित पक्राउ गरिएका तीनै जना अनुसन्धानको घेरामा छन्। पक्राउ पर्नेमा काठमाडौंको चण्डोल बस्ने बाराको सिमरा–२ का ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका–२४ फसिकेस्थित होलिडे ट्रेडिङ चलाउने रिन्कु भनिने अभिषेक अग्रवाल र उनका कर्मचारी कपन बस्ने काभ्रेको पाँचखाल–१३ का ३६ वर्षीय मधुसूदन त्रिपाठी छन्।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मंगलबार पौडेललाई काठमाडौंको खिचापोखरीबाट नगद ३१ लाख रुपैयाँसहित पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेको थियो। त्यसपछि अग्रवालको फर्ममा छापा मार्दा थप ५४ लाख ५६ हजार रुपैयाँ बरामद भयो तर त्यसको स्रोत नखुलेपछि थप दुईलाई पक्राउ परेका हुन्।

प्रकाशित मिति:     ९ भाद्र २०७८, बुधबार  |    Himali Khabar