लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरणमा एसपी शाहविरुद्ध पनि छानबिन हुने

लागूऔषध राखेर पत्रकार फसाइएको प्रकरणमा एसपी शाहविरुद्ध पनि छानबिन हुने

काठमाडौं । रौतहटमा निर्दोष व्यक्तिको मोटरसाइकलमा लागूऔषध राखिदिएर पक्राउ गरेको घटनामा जिल्ला प्रहरी प्रमुखमाथि पनि छानबिन हुने भएको छ ।

जिल्ला प्रहरी प्रमुख एसएपी सिद्धिविक्रम शाहले अर्का पत्रकार सञ्जय शहनीसँग गरेको टेलिफोन संवाद बाहिरिएसँगै प्रहरी प्रधान कार्यालय, नक्सालले एसपीविरुद्ध छानबिन गर्ने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गरेर रौतहट प्रहरीले पत्रकार महाशाखा जिल्ला शाखा रौतटहका सह–सचिव सञ्जय शहनीको योजनामा दुई प्रहरी मिलेर पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाएको दाबी गरेको थियो । प्रकरणमा संलग्न प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई निलम्बन गरिएको जनाएको थियो ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेका छन् । त्यसअघि उनले ‘एक्लै हो’ भनेर प्रश्न पनि गरेका छन् । यसले पूर्वयोजना अनुसार शाहको पनि घटनामा संलग्नता रहेको हुनसक्ने पत्रकारहरुले आशंका गरेका छन् ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar