नेपालमा प्रतिबन्धित रेड बुल ब्रिक्री गर्ने ४ जना पक्राउ

नेपालमा प्रतिबन्धित रेड बुल ब्रिक्री गर्ने ४ जना पक्राउ

काठमाडौं । क्याफिनयुक्त पेय पदार्थ रेड बुल बिक्री वितरण तथा ओसार पसार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सरकारले २ असार २०७६ मा राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा क्याफिनयुक्त पेय पदार्थ बिक्री वितर तथा आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। तर, लुकाइछिपाइ क्याफिनयुक्त रेडबुल बिक्री गरिरहेको पाइएको प्रहरीले जानकारी दिएको छ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको न्युरोड, सिनामंगल, पुरानो बानेश्वर, कपन र गोठाटार लगायत क्षेत्रमा निलो कलरको बोत्तलमा प्याक भएको प्रतिबन्धित रेड बुल बिक्री वितरण गरिरहेका ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको न्युरोडस्थित प्रणव स्टोरका सञ्चालक बबरमहल बस्ने ४४ वर्षीय रविनराज श्रेष्ठ, बाँकेको कोहलपुर–९ घर भइ काठमाडौंको गोंगबु बस्ने ३६ वर्षीय राजु पौडेल, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–३ घर भइ काठमाडौंको कपनमा शक्तिमाता स्टोर नामक पसल चलाउँदै आएका ३१ वर्षीय धनबहादुर श्रेष्ठ र सर्लाहीको हरिपुर नगरपालिका–१ घर भइ काठमाडौंको गोठाटार बस्ने ३६ वर्षीय वीरेन्द्र चौधरी छन्।

प्रहरीका अनुसार न्युरोडमा प्रणव स्टोर चलाउँदै आएका रबिनराज श्रेष्ठको पसलबाट ५९ कार्टुन क्याफिनयुक्त रेडबुल बरामद भएको छ। धनबहादुर श्रेष्ठको कपनस्थित शक्तिमाता स्टोरबाट पनि ५९ कार्टुन रेडबुल बरामद भएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका ३६ वर्षीय राजु पौडेल प्रतिबन्धित रेडबुल ओसारपसारमा संलग्न रहेका पाइएको छ। यस्तै, ३६ वर्षीय वीरेन्द्र चौधरी पनि प्रतिबन्धित रेडबुलको तस्करीमा संलग्न रहेका पाइएको अपराध महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार चौधरीले बा २१ च १२५ नम्बरको टाटा पिकअप भ्यानमा राखी काठमाडौंका विभिन्न ठाउँमा प्रतिबन्धित रेडबुल बिक्री वितरण गर्दै आएका थिए।

प्रकाशित मिति:     ६ श्रावण २०७८, बुधबार  |    Himali Khabar